यो पटक पनि कोरोना ‘हटस्पट’ बन्दै प्रदेश २

जनकपुरधाम। प्रदेश २ मा बुधबार मात्रै ३०७ जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश जनस्वाथ्य निर्देशनालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको परीक्षणमा धनुषा ५३ ,पर्सा १२३, बारा ४१, रौतहट २३,महोत्तरी १७, सिरहा १७, सर्लाही १० र सप्तरीमा २३ संक्रमित पहिचान भएको हो।

गत वर्ष कोरोनाको ‘हटस्पट’ बनेको प्रदेश २ दोश्रो चरणमा पनि ‘हटस्पट’ बन्ने जोखिममा परेको छ। सीमा नाकामा चरम हेल्चेक्य्राइँ, न्यून सतर्कता र कमजोर स्वास्थ्य प्रणाली भएकाले प्रदेशमा पछिल्लो समय दिनानुदिन कोरोना संक्रमित संख्या बढ्दै गएको छ।

प्रदेश २ सरकारले कोभिड–१९ संक्रमण बढ्न नदिन आवश्यकतानुसार प्रभावित जिल्ला र त्यसभित्रका खास क्षेत्रमा लकडाउन लगाउने, सीमाक्षेत्रमा आवागमन कडाइ गर्ने, पीसीआर जाँच बढाउने र उपचार प्रबन्ध व्यवस्थित गर्न स्वास्थ्य उपकरण बढाउने रणनीति तय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन्।

अन्य सम्बन्धित समाचार:  तीन जना कोरोना सङ्क्रमितको मृत्यु

तर, प्रदेशमा संक्रमित संख्या दिनहुँ बढ्दै गएपनि सरकारी स्तरबाट हुनुपर्ने तयारी न्यून र सुस्त गतिमा चलेको देखिएको छ। प्रदेश सरकारले गरेका निर्णय कार्यन्वयन हुन सकेको छैन।

प्रदेशका आठवटै जिल्लामा स्वास्थ्यकर्मीसँगै र उपकरणसमेत अभाव छ। चिकित्सकहरूका अनुसार कोरोनाविरुद्ध लडाईंमा प्रदेश २ अझै प्राविधिक रूपले तयार हुन सकेको छैन।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले निष्क्रियता देखाएको भन्दै प्रतिपक्षी दलले समेत सरकारको आलोचना गरिरहेका छन्‌।