लुम्बिनी प्रदेशमा जसपाका चार नेताकाे सांसद पद खोेसियो

रुपन्देही। लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार सांसद पदमुक्त भएका छन्। प्रदेश सभा सचिवालयले बिहीवार सूचना निकालेर सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको हो।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ ९१० र विजयकुमार यादव बाँके क्षेत्र नम्बर ९९१० बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन्। उनीहरू चारै जना केही दिनअघि मात्रै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका थिए।

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदसहित चार जनालाई मन्त्री बनाउनुभएको थियो। पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए। मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरूले लुम्बिनी प्रदेशको मन्त्री बनेर शपथ ग्रहण गरेका थिए।

अन्य सम्बन्धित समाचार:  सभापति देउवाले बोलाए पदाधिकारी बैठक