निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई कैद सजाय

रुपन्देही। रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई कैद सजाय भएको छ। निषेधाज्ञा उल्लंघन गरी प्रहरी प्रशासनलाई अवरोध गरेको आरोपमा आठ जनालाई बिहीबार नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकामा ७ जनालाई एक महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १ सय र एक महिलालाई जरिवाना बापत ६ सय जरिवाना तोकिएको थियो।

ती मध्ये ५ जनालाई कैद र जरिवाना वापतको रकम दाखिला गराई छाडिएको र अन्य ३ जना कारागार चलान भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार ८ जनालाई सम्झाई बुझाई गर्दा प्रहरी अधिकृतसमेतको टोलीलाई डिउटीमा बाधा अबरोध पुर्‍याएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो। रुपन्देहीमा बिहीबारदेखि वैशाख १६ देखि ३० गतेसम्म निषेधाज्ञा लगाइएको छ।

अन्य सम्बन्धित समाचार:  लुम्बिनीः राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता जेठ ४ मा