वीरगन्जमा थप तीन कोरोना संक्रमितको मृत्यु

पर्सा। वीरगन्जमा कोरोना भाइरस संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा उपचाररत पर्साका २ र बाराका १ गरी ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।

पर्साको वीरगन्ज महानगरपालिका–१६ नगवाकी ४८ वर्षिया महिलाको शुक्रबार बिहान पौने २ बजे मृत्यु भएको हो। निमोनियाले सिकिस्त भएकी उनको उपचारका लागि अस्पतालमा बैशाख १२ गते भर्ना भएको र त्यहि दिन पीसीआर परीक्षण गर्दा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै नारायणी अस्पतालकै आइशोलेसनमा उपचाररत बाराको जीतपुरसीमरा उपमहानगरपालिका -२४ का ७७ वर्षिय पुरुषको भने बिहीबार राति पौने १२ बजे मृत्यु भएको हो। बैशाख १० गते नारायणी अस्पतालमा भर्ना भएका ती पुरुषको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो।

बिहीबार राति नै पर्साको वीरगन्ज महानगरपालिका–३ की ४७ वर्षिया महिलाको पनि नारायणी अस्पतालमै मृत्यु भएको छ। बैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन अस्पतालमा भर्ना भएकी उनको बिहीबार राति साढे ९ बजे मृत्यु भएको डाक्टर दासले जानकारी दिए।

यसअघि बिहीबार पनि नारायणी अस्तपतालमै वीरगन्ज महानगरपालिका–१२ का ४० वर्षीय संक्रमित पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको थियो।