सुदूरपश्चिममा भारतबाट फर्किनेको घुँइचो

कैलाली। कोरोना भाईरसको दोस्रो लहर शुरु भएसँगै पुनः भारतबाट घर फर्किने सुदूरपश्चिमेलिहरुको लर्को लाग्न थालेको छ। कञ्चनपुरसँग सीमा जोडिएका प्रदेशका दुई ठुला नाका त्रिनगर–गौरीफन्टा र गड्डाचौकीबाट एक हप्ताको अवधीमा हजारौं नेपालीहरु घर फर्किएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वैशाख ९ गतेदेखि १६ गतेसम्म मात्रै साढे ९ हजार भन्दा बढी प्रदेशवासी घर फर्किएका छन्। जिल्लाको गड्डाचौकी नाका भएर मात्रै उक्त अवधीमा ३ हजार ७ सय १० भन्दा बढीले नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

सोही जिल्लाकै अर्को नाका त्रिनगर–गौरीफन्टा भएर पनि उक्त अवधीमा ६ हजार २ सय १६ जनाले नेपाल प्रवेश गरेको तथ्यङ्क छ। ‘अहिले पनि नेपाल प्रवेश गर्नेको लर्को उस्तै छ,’ प्रहरी नायव उपरीक्षक थापाले भने।

अन्य सम्बन्धित समाचार:  भारतबाट काठ काटेर ल्याउने पक्राउ

प्रदेशका दुई नाका भएर दैनिक हजार भन्दा बढी प्रदेशवासी घर फर्किने गरको भएपनि उनीहरुको उचित व्यवस्थापन भने हुन सकेको छैन। भारतको कोरोना प्रभावित क्षेत्रबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राख्न समेत वेवास्ता भइरहेको डोटी राजपुरका स्थानीय नरेन्द्र जोशीले बताए। ‘भारतबाट फर्किएकाहरुको व्यवस्थापन न त स्थानीय सरकारले गरेको छ न त प्रदेश सरकारले,’ उनले भने, ‘यस्तै वेवास्ता हुने हो भने सुदूर पहाडमा समेत कोरोना संक्रमितको अवस्था अझै डरलाग्दो हुने देखिएको छ।’