बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

सर्लाही। जिल्लाको गोडैता नगरपालिका–५ रामबरमा बसले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

गडहियाबाट हरकठवा तर्फ जाँदै गरेको ना ४ ख १०८९ नम्बरको बसले सोही तर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिएका छन्।
शनिबार बिहान करिब ७ बजे भएको उक्त दुर्घटनामा रौतहटको गढीमाई नगरपालिका–८ का करिब २६ वर्षीय जयचन्द्र साहको मृत्यु भएको हो।

उनको टाउको तथा छातीमा चोट लागेको थियो। गम्भीर घाइते भएका उनको उपचारका लागि मंलगवा तर्फ पठाइएकोमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै मोटरसाइकलको पछाडि सवार अन्दाजी ३५ वर्षीय बिगु साह तथा ९ वर्षीय बालक बिनेश कुमार साह घाइते भएका छन्। उनीहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। चालकसहित बस प्रहरीको नियन्त्रणमा रहेको छ।