काठमाडौंका अस्पतालमा शय्या नभेटेपछि ‘एयर लिफ्ट’ बाट संक्रमित बाहिर पठाइँदै

काठमाडौं। नयाँ प्रजातिसहितको कोरोना संक्रमण दर तीव्र बनेपछि उपत्यकाका अस्पतालमा केही दिनयता चाप बढेको छ। जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित आईसीयूमा शय्या अभाव हुन थालेपछि एयर लिफ्टमार्फत बिरामी बाहिर लैजान थालिएको छ। कोरोना महामारीको पहिलो चरणमा गत वर्ष बाहिरी जिल्लाका संक्रमितलाई थप उपचारका लागि रेफर गरेर काठमाडौं ल्याउने गरिन्थ्यो।

काठमाडौंस्थित मनमोहन अस्पतालमा उपचारार्थ एक कोराना संक्रमितलाई बिरामीलाई थप उपचारार्थ हेलिकप्टर मार्फत झापा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ‘बेड सिफ्ट’ गरिएको छ। उपत्यकाका कुनै अस्पतालमा भेन्टिलेटरसहितको बेड नपाएपछि झापा कमल गाउँपालिका ५ का ३५ वर्षीय मदन पाठकलाई बीएण्डसी अस्पताल लगिएको हो।

स्वास्थ्यमन्त्रालयका अनुसार हिजोमात्रै नेपालमा सात हजार २११ संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा २७ जनाको मृत्यु भयो। काठमाडौं उपत्यकामा मात्र ३ हजार ५९५ जनालाई संक्रमण पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि

यही वैशाख १५ गते पनि ह्याम्स अस्पतालबाट झापाकै कोरोना संक्रमित नरप्रसाद उप्रेतीलाई भेन्टिलेटर सहित आइसियू अभाव भएपछि काठमाडौंबाट हवाई चार्टर मार्फत सो अस्पतालमा भर्ना गरिएको थियो। हाल उनको स्वास्थ्यमा सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए।

उनका अनुसार काठमाडौंका अस्पतालमा कोरानाका बिरामीका लागि भेन्टिलेटर सहित आइसियूको अभाव भएपछि अस्पतालमा तारान्तार फोन आइरहेको छ।