दिल्लीमा कोरोना महामारी नियन्त्रणका लागि सेनालाई आग्रह

नयाँ दिल्ली। भारतमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढ्दै जाँदा अवस्था नाजुक बनेको भन्दै दिल्लीका अधिकारीहरुले सहयोगका लागि सेनालाई आग्रह गरेका बीबीसीले जनाएको छ।

अक्सिजन, शैया र स्वास्थ्यकर्मीको अभावमा सहरका अस्पतालहरु सङ्कटमा पर्दै गएको दिल्ली सरकारले जनाएको छ।

यो सङ्कटको बेलामा उपचार कक्षहरु सञ्चालन, अक्सिजनको सहज आपूर्ति लगायतका कामका लागि सेनालाई आग्रह गरेको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले बताए।

रक्षा समितिको नेतृत्वमा पर्याप्त स्रोतसाधनसहित सेनाले काम गर्दा महामारी नियन्त्रण र क्षति कम गर्न सहयोग पुग्ने उनले बताए।

दिल्लीमा अक्सिजनको अभावमा सङ्क्रमितले दैनिकजसो ज्यान गुमाइरहेका छन् भने शैया अभावमा कयौँ मानिस तड्पिरहेका छन्।
भारतमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई करोड नाघेको छ।

अन्य सम्बन्धित समाचार:  तीन जना कोरोना सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ५५ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै भारतमा दुई करोड दुई लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या दुई लाख २२ हजार नाघेको छ। यसैबीच भारतको राजधानी दिल्लीका अधिकारीहरुले महामारीमा सहयोगका लागि सेनालाई आग्रह गरेका छन्।